माेरङमा चट्याङ लागेर एककाे मृत्यु, एक जना घाइते
काठमाण्डौ - मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको चट्याङ लागेर ज्यान गएको छ । सोमबार जोत्दै गरेको अवस्थामा परेको चट्याङ लागेर मण्डलको घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेको अवस्थाका हलगोरु पनि मरेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमर्टमपछि परिवारका सदस्यको जिम्मा लगाइएको छ ।
त्यस्तै चट्याङ लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकाे छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चट्याङले लागेर कान र टाउकोमा चोट लागेको छ ।