प्रधानमन्त्री ओलीलाई नेपालमा धेरै कामको धपडी ,आराम गर्न एक साताको लागी सिंगापुर जाँदै,
कठमाण्डौ १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन्। निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका छन । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउने भएका छन्।प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले प्रधानमन्त्री ओली आरामको जरुरत भएको बताएका छन । केही दिन आराम गर्न र स्वाथ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन्। ‘दैनिक कार्यसम्पादनमा धपेडी भयो। राति दुई बजेसम्म काम गर्नुहुन्छ। बिहानै उठ्नुपर्छ। निकै धपेडी छ।
तेस्तै उहाँका निकटस्थहरुले पनि केही दिन देशबाहिर गएर आराम गर्न पर्ने सुझाव समेत दिएका छन्’, डा। सिंहले भनिन्, ‘हामीले पनि आराम गर्न सुझाएका छौं। सिंगापुरमा उहाँको स्वास्थ परीक्षणसमेत हुनेछ।’ प्रधानमन्त्रीसँगै डा। सिंह पनि सिंगापुर जानेछन्। ‘प्रधानमन्त्रीज्यूले यहाँ गराएका परीक्षणको रिपोर्ट र औषधिको विषयमा सिंगापुरमा थप परामर्श गरिनेछ,’ सिंहले भनिन।
सरकार र पार्टीका काममा प्रधानमन्त्री दैनिक व्यस्त हुनुपरेकाले उहाँलाई आरामको जरुरत रहेको निकटस्थले बताउँदै आएका थिए। प्रधानमन्त्री ओलीको शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित स्वास्थ्य परीक्षण गरिएको थियो। शिक्षण अस्पतालमा कोठा खाली नभएपछि छाउनी अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण क्रममा प्रधानमन्त्री ओलीको रगत, दिसापिसाब तथा पेटको अल्ट्रासाउन्ड, युएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो। परीक्षणबाट उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएको थियो।
प्रधानमन्त्री ओलीको ६ वर्षअघि हातमा संक्रमण भएको थियो। लामो समय उपचार गरेर संक्रमण निको भएको थियो। त्यतिबेला उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए। त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका छन्। गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि ओलीले बैंककस्थित बुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी सचिवालय बैठकमा पनि आफ्नो स्वास्थ्य अवस्था र सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए। ओली साउन १८ मा सिंगापुर जाने भएकाले सचिवालय बैठक २८ गतेसम्मका लागि सारिएको छ।
प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको उपचार खर्च सरकारले बेहोर्ने बताए। ‘प्रधानमन्त्री फलोअपका लागि सिंगापुर जान लाग्नुभएको हो,’ उनका प्रेस सल्लाहकार अर्यालले भने, ‘उहाँको उपचार खर्चको विषयमा अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय हुन्छ।’ प्रधानमन्त्रीको स्वास्थ्यभन्दा उपचार खर्च ठूलो नहुने उनले बताए। तर, जनस्वास्थ्य सेवा ऐन २०७५ ले विदेशमा उपचार गरेबापतको रकम राज्यले उपलब्ध नगराउने उल्लेख छ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिको विदेशमा उपचार गर्नुपर्ने भएमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन,’ ऐनको दफा ३० मा लेखिएको छ।यस्तै मंगलबार मात्रै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड परिवारसहित दुबई भ्रमणमा निस्किएका छन्। प्रचण्डको दुबई भ्रमण नितान्त पारिवारिक भएको बताइएको छ।