ज्येष्ठ नागरिकले 'स्वेच्छिक मरण' गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्छ : भैरव रिसाल
काठमाण्डौ – वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । पत्रकार रिसालले विद्वान छोराछोरीका धेरै ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो ।
सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न सरकारसँग विशेष अनुरोध गर्नुभएको छ । पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।
शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासू-ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उहाँको भनाइ छ ।
बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयाे ।
अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गर्नुभयो । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म जेल सजायकाे प्रावधान राखिएको छ ।