झापाको भालुखोप जङ्गलबाट १ करोड १६ लाखको फर्सीको बियाँ बरामद
मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट खटिएको टोलीले आज दिउँसो बेवारिसे अवस्थामा राखिएका ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद फर्सीको बियाँको अनुमानित मूल्य एक करोड १६ लाख ४० हजार रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उनले जानकारी दिए ।
पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जङ्गल क्षेत्रमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा फर्सीको बियाँ बरामद भएको हो ।