काठमाडौं उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३, तीव्र गतिमा सवारी चलाउने ११३, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३६ र सिसिटिभी निगरानीबाट पहिचान भएका ३५ जना रहेका छन् ।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन उल्लङ्घन गर्ने तीन र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने आठ जना कारबाहीमा परेका छन् । अन्य नियम उल्लङ्घन गर्ने ३३६ जना पनि कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको जनाएको छ । साथै, सबै सवारीचालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।