प्रधानमन्त्री दाहालद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको छ ।
विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री दाहालले मंगलबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा.ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बिजुकुमार थपलियालाई नियुक्त गर्नुभएको हो । सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट र सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो ।
उक्त समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले विभिन्न नाम सिफारिस गरेको हो ।