देउवालाई पार्टीभन्दा गठबन्धन प्रिय
नेकपा एमालेले सार्वजनिक गरेको ६७ बुँदे अपिलको खण्डनमा नेपाली कांग्रेसले ४२ बुँदे प्रेस नोट सार्वजनिक गरेको छ । प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी एमाले अपिलको खण्डनमा प्रेस नोट जारी गरेका हुन् ।
तीन खण्डमा विभाजित प्रेस नोटको १५ नम्बर बुँदासम्म कांग्रेस नेतृत्वमा २०४८ साल यता भएका राम्रो कामको विवरण समेटिएको छ । त्यस पछिका २२ बुँदा एमालेको आलोचनामा खर्चिएको छ भने अन्त्यमा मतदातासँग मतको अपेक्षा गरिएको छ ।
एमालेकै शैलीमा कांग्रेसले पनि आफूले नजिते संविधान, लोकतन्त्र, विकास निर्माणदेखि सामाजिक न्यायसम्म खतरामा पर्ने निष्कर्ष प्रस्तुत गरेको छ । ‘नेपाली कांग्रेस जनताको मौलिक अधिकार, राष्ट्रहित, कानूनी राजको सदैव हिमायती रहँदै आएको छ । कहिल्यै बाधक बनेको छैन’, प्रेस नोटमा उल्लेख छ ।
एमाले घोषणापत्रको जवाफ घोषणापत्रबाटै र अपीलको जवाफ प्रेस नोटबाट दिएको कांग्रेस, पार्टीभित्र र बाहिर चर्को रुपमा उठेको प्रश्नबाट भने पञ्छिएको छ । आफैमा बलियो शक्ति कांग्रेसले पार्टीप्रति निष्ठावान कार्यकर्ताको उम्मेद्वार बन्ने आकांक्षा दबाएर गठबन्धन गर्नुपर्ने प्रश्न नेतृत्व सामू पेचिलो छ । तर एमाले आरोपको खण्डन गर्न एक दिन ढिलाइ नगरेको कांग्रेसले अन्तिम पत्रकार सम्मेलनमा पनि गठबन्धनकै बचाऊ गरेको छ ।