होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही
हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ ।
होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।
यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने एसपी मौलीले बताए । उनका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ ।