नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोप्न सुरु
चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लामो सडकको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
उनका अनुसार गैँडाकोट, देवचुली र कावासोतीलगायत क्षेत्रमा दुबो रोप्ने काम भइरहेको छ । सडकको मुख्य कालोपत्रको काम सकिएसँगै अहिले सर्भिस लेन, रेलिङ, रङरोगन, सडक मर्मत तथा सौन्दर्यीकरणका काम भइरहेका छन् ।
करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माण भएको सडक गत साउनमा निर्माण कम्पनीबाट टेकओभर गरिएको हो । सडक विस्तारका क्रममा ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको छ ।