सञ्चारकर्मी विनोद नेपाली ‘क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६’ बाट सम्मानित
पर्सेप्ट मिडियाबाट पत्रकारितासम्बन्धी तालिम लिएका सञ्चारकर्मी विनोद नेपाली ‘तेस्रो क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।
पत्रकारितामार्फत सत्य, निष्पक्षता र जनउत्तरदायित्वको पक्षमा निरन्तर योगदान पुर्याएको कदरस्वरूप उनलाई ‘सञ्चारकर्मी सम्मान–२०२६’ प्रदान गरिएको हो ।
दैलेखको आठबीस नगरपालिका–६, रोलमा जन्मिएका नेपाली लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय छन् । विभिन्न चुनौती र संघर्षका बीच जनताको आवाजलाई प्राथमिकता दिँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्दै आएका उनले पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका छन् ।
काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा मुक्तिनाथ विकास बैंक तथा कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको प्रमुख आतिथ्यतामा उनलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा एट्रियम म्युजिक प्रा।लि।का प्रबन्ध निर्देशक विजेन्द्र नौबागले नेपालीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सम्मानपछि सञ्चारकर्मी नेपालीले यसबाट आफूलाई पत्रकारिता क्षेत्रमा थप सक्रिय हुन प्रेरणा मिलेको बताएका छन् । उनले आगामी दिनमा पनि सत्यतथ्य समाचार सम्प्रेषण गर्दै जनताको आवाजलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पर्सेप्ट मिडियाबाट पत्रकारिताको तालिम लिएर सञ्चार क्षेत्रमा सक्रिय बनेका नेपालीको यो सम्मानले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।