योग्यताक्रम मिचेर गरिएको नेपाल वायुसेवा निगमको नियुक्ति सर्वोच्चद्वारा बदर
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर गर्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले करिब एक महिनाअघि गरेको उक्त नियुक्तिविरुद्ध परेको रिटमा शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले नियुक्ति बदर गर्ने फैसला गरेको हो।
छनोट समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका उपेन्द्रबहादुर कार्कीलाई नियुक्त नगरी अन्य उम्मेदवारलाई नियुक्त गरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
अदालतले योग्यताका आधारमा सर्वाधिक अंक प्राप्त गरेका उम्मेदवारलाई कुनै स्पष्ट कारणबिना पन्छाएर नियुक्ति गर्नु सुशासनको सिद्धान्तविपरीत भएको ठहर गरेको छ। साथै छनोट समितिको सिफारिस र योग्यताक्रमका आधारमा पुनः निर्णय गर्न सरकारलाई परमादेश दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले डा. दीपकप्रसाद बाँस्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालकमा नियुक्त गरेका थिए। अदालतले उक्त निर्णयलाई आधारहीन ‘पिक एन्ड चुज’ भएको उल्लेख गरेको छ।