विश्वकप लिग २: नेपाल ८१ रनले विजयी, ओमान १७५ रनमै समेटियो
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९ ओभर ५ बलमा १७५ रनमै समेटियो।
नेपालका गुल्शन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
ओमानका विनायक शुक्लाले ३६ रन र हमिद मिर्जाले ३४ रन जोडे पनि टोलीलाई जिततर्फ लैजान सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २५६ रन बनाएको थियो। आशिफ शेखले सर्वाधिक ९४ रनको इनिङ खेले भने अर्जुन कुमालले ४८ रन र आरिफ शेखले ४३ रनको आक्रामक पारी खेले।
ओमानका बलरमध्ये नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हस्नैन शाहले २–२ विकेट हात पारे।