उद्योग वाणिज्य महासंघ लुम्बिनीकाे अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । रुपन्देहीको भैरहवामा सम्पन्न महासंघको आठौँ प्रदेश सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले कपिलवस्तुको चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन्। महासंघको एसोसिएटतर्फ १०२ मत खसेकोमा श्रेष्ठले ९६ मत पाउँदा मियाँले ६ मत मात्र प्राप्त गरेका थिए ।
त्यस्तै, जिल्ला-नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरे । वस्तुगततर्फ खसेको एउटा मत पनि श्रेष्ठले पाए । अध्यक्षमा निर्वाचित भैरहवा निवासी श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष समेत हुन् ।
निर्वाचन समितिका अनुसार महासंघको जिल्ला-नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एशोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन, कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्यूठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भए ।
एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल पनि निर्विरोध निर्वाचित भए। ११ सदस्यीय रहने समितिमा एकजना महिलासहित दुईजना सदस्य मनोनित गरिने व्यवस्था छ ।