चार दिनमै २२६ बिचौलिया पक्राउ : गृहमन्त्रीको सक्रियतापछि प्रहरीको कडा एक्सन
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङको सक्रियतासँगै प्रहरीले देशभर बिचौलियाविरुद्ध कडा अभियान सञ्चालन गर्दै चार दिनमै २२६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चैत १८ गते ६९, चैत १९ गते ७१, चैत २० गते २४ र चैत २१ गते ६२ जना बिचौलिया पक्राउ परेका हुन्। सार्वजनिक तथा सरकारी कार्यालय वरिपरि अनुमति बिना अवैध रूपमा बिचौलियाको काम गर्दै आएका व्यक्तिहरूलाई लक्षित गरी यो अभियान चलाइएको हो।
प्रहरीले विशेषगरी विभिन्न कार्यालय नजिकै अनधिकृत रूपमा सेवा दिने नाममा कार्यालय स्थापना गर्ने र डुलुवाका रूपमा सेवाग्राहीलाई झुक्याउने बिचौलियामाथि निगरानी बढाएको जनाएको छ।
अभियानअन्तर्गत चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना पक्राउ परेका थिए। उनीहरूलाई काठमाडौँका विभिन्न बस काउन्टर तथा ललितपुर र भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सोही दिन कोशी प्रदेशबाट थप १८ जना पक्राउ परेका थिए, जसमा सुनसरी मालपोतबाट १३ र यातायात कार्यालयबाट पाँच जना रहेका छन्।
चैत १९ गते झापा, पर्सा र सप्तरीबाट सात जना पक्राउ परेका थिए। त्यसैगरी बागमती प्रदेशको चितवन मालपोतबाट २३ जना, गण्डकी प्रदेशको कास्कीबाट दुई र कर्णाली प्रदेशको सुर्खेतबाट १९ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका मालपोत तथा जिल्ला प्रशासन कार्यालयबाट समेत १९ जना नियन्त्रणमा लिइएका छन्।
चैत २० गते गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट २४ जना पक्राउ परेका थिए भने शनिबार मात्र काठमाडौँ उपत्यकाबाट थप ६२ जना पक्राउ गरिएको छ।
प्रहरीले बिचौलियाको अवैध गतिविधि नियन्त्रण गर्न अभियान अझै कडाइका साथ जारी रहने जनाएको छ।