मकवानपुरको सोलिड्यारेटीबाट नक्कली परीक्षार्थी पक्राउ
मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला सिन्धुली मरिन गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षका बिराज विक रहेका छन्। उनले अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले विकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दा उनले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने १९ वर्षका अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।