चन्द्रागिरीमा सामाजिक अभियन्तालाई आक्रमण गर्ने चार जना पक्राउ
काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ स्थित किसिपिडीमा एक जना सामाजिक अभियन्तालाई आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार चार जना मिलेर ४५ वर्षीया एक जना सामाजिक अभियन्तालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सो भिडियोको आधारमा पहिचान गरेर प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रागिरी घर भएका ३० वर्षीय राजीव पन्त, २६ वर्षीय रोहन पन्त, ३१ वर्षीय विनोद पन्त र ३४ वर्षका अस्मित सिटौला छन् ।
दिप प्रज्वलन सम्बन्धी पोस्टर टाँस्दै हिँडेका सामाजिक अभियन्तासँग धारोको विषयमा विवाद हुँदा आरोपीहरूले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।