एसईईमा प्रश्नपत्र लिक गरी मोबाइलबाट उत्तर पठाउने तीन युवक पक्राउ
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ। रौतहटको गरुडा नगरपालिका–४ स्थित गरुडा बजारबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, बृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहेका छन्।
उनीहरूलाई चैत २० गते बिहान १०:३० बजे परीक्षाको गोप्यता र मर्यादा भंग गरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक जीवनकुमार मैनालीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ह्वाट्सएप समूह बनाएर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनमार्फत परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने कार्यमा संलग्न रहेको पाइएको छ। विद्युतीय माध्यमको प्रयोग गरी परीक्षाको गरिमामा आँच पुर्याएको भन्दै उनीहरूमाथि प्रहरी निगरानीमा राखिएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरी निरीक्षक मैनालीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।