कर्णालीबाट ३८ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
काठमाडौं । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थी रहेका छन् ।
परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेत जिल्लाबाट ९ हजार ७७९ जना सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी सहभागी हुनेछन् ।
जिल्लागत रूपमा दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट ४ हजार ८१३, सल्यानबाट ४ हजार १४२, रुकुमपश्चिमबाट ३ हजार ९२२ र कालीकोटबाट ३ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
त्यसैगरी जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षा केन्द्रतर्फ सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ केन्द्र तोकिएको निर्देशनालयले जनाएको छ ।