निर्वाचन निष्पक्ष बनाउन प्रधानमन्त्रीलाई परियारको आग्रह, सरकारमाथि पक्षधरताको आरोप
काठमाडौँ। नेपाली कांग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महसुस गर्दै काम गर्न आग्रह गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उनले आसन्न निर्वाचनका लागि निष्पक्ष, पारदर्शी र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
सरकारका पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण र धाँदलीरहित हुने विषयमा आशंका पैदा भएको उनको भनाइ थियो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने विषयमा महान्यायाधिवक्ताको कार्यालयको कदमप्रति उनले असन्तुष्टि जनाए।
मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतबाट सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने निर्णयलाई उनले विवादास्पद र शंकास्पद भने। यस्तो निर्णयले सरकार दलगत पक्षधर बनेको सन्देश गएको उनको आरोप थियो।
त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन निर्वाचनकै मुखमा सरकार आफैं आयोजक बनेर गरिनु उपयुक्त नभएको पनि उनले बताए। यस्ता निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ झुकाव राख्दै गएको हो कि भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उनको भनाइ थियो।