नेपालकी सोना श्रेष्ठ एसियाली विकास बैंकको दक्षिण एसिया विभागकी महानिर्देशक नियुक्त
काठमाडौं, २९ माघ — एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ।
श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो। यसअघि उनी सोही विभागकी उपमहानिर्देशक थिइन्। उनी एडीबीमा उच्च नेतृत्वमा पुगेकी थोरै नेपालीमध्ये एक हुन्। उपमहानिर्देशक पद उनी ३ अप्रिल २०२५ देखि सम्हाल्दै आएकी थिइन्।
श्रेष्ठले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक, सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरेकी छिन्। त्यसअघि उनले दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक र फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टको रूपमा पनि सेवा दिइसकेकी छिन्।
महानिर्देशक नियुक्ति पाएर आफू सम्मानित महसुस गरेको बताएकी श्रेष्ठले, “समावेशी र दिगो विकासमा सहयोग पुर्याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु,” भनिन्।
श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको अनुभव छ। उनले अर्थशास्त्रमा पीएचडी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट र बीए स्मिथ कलेज, अमेरिका बाट पूरा गरेकी हुन्। २७ वर्षको करियरमा २३ वर्ष एडीबीमै बिताएकी श्रेष्ठले मध्य, पश्चिम, दक्षिण र दक्षिण–पूर्वी एसियामा कार्य सञ्चालनको अनुभव हासिल गरेकी छन्।
एडीबी एसिया–प्रशान्त क्षेत्रमा समावेशी, दिगो र सशक्त विकासलाई समर्थन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। सन् १९६६ मा स्थापना भएको यस बैंकमा ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० राष्ट्र एसियाका हुन्।