जनकपुरधाममा २३ वर्षीया युवती मृत फेला, हत्या आशंका
२८ माघ, जनकपुरधाम — जनकपुरधाममा एक २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान शव फेला परेपछि प्रारम्भिक रूपमा यौनिक अल्पसंख्यक व्यक्ति हुन सक्ने आशंका गरिएको भए पनि प्रहरीले उनी युवती रहेको पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार मृतक धनुषाको विदेह नगरपालिका निवासी मुस्लिम नदाफकी छोरी हलिना खातुन रहेको खुलेको छ।
बिहान करिब साढे ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया स्थित सडक छेउमा घाँटी कसिएको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमा मृतकको चप्पल र नजिकै झोला समेत भेटिएको प्रहरीले जनाएको छ।
शव र घटनास्थलको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको डीएसपी बमले बताए। “सलले घाँटी कसेर हत्या गरेको जस्तो देखिन्छ। थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्नेछ,” उनले भने।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।