क्रिप्टो कारोबारमा संलग्न आरोपित मोहम्मद सेफ पुर्पक्षका लागि थुनामा
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले क्रिप्टोकरेन्सी कारोबारमार्फत गैरकानुनी आम्दानी गरेको आरोपमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले बुधबार सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सेफमाथि क्रिप्टो कारोबारमार्फत अवैध रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको अभियोग लगाएको छ। सोही बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न तथा कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न मागदाबी गरिएको छ। साथै बरामद भएका मोबाइल फोन र सिम कार्डहरू जफत गर्नसमेत अभियोजनले माग गरेको छ।
प्रहरीले उनलाई २०८२ मंसिर १० गते साँझ काठमाडौँको भद्रकाली क्षेत्रबाट शंकास्पद अवस्थामा पक्राउ गरेको थियो। खानतलासीका क्रममा दुई वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। मोबाइलको प्रारम्भिक जाँचका क्रममा ‘बाइनन्स’ एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेन्सीमा ठूलो परिमाणमा कारोबार भएको फेला परेको अनुसन्धानमा उल्लेख गरिएको छ।
मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।