सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न यातायात व्यवसायी महासङ्घको माग
काठमाडौँ, माघ — देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पछिल्ला दिनमा भएका ठूला सडक दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज जारी गरेको विज्ञप्तिमा एक हप्ताको अवधिमा भएका दुई ठूला दुर्घटनामा दर्जनौँ व्यक्तिले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यथार्थ छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित राहत उपलब्ध गराउन माग गरिएको छ।
माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बस रामेछापमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो। दुवै दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका थिए।
महासङ्घले दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, देशभर भइरहेका सडक दुर्घटनाको यथार्थ छानबिन गरी सम्बन्धित पक्षबाट तत्काल राहत र उद्धारको प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
महासङ्घले सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, टिकट काट्दा यात्रुको पहिचान खुल्ने प्रमाण, नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गरी दैनिक अभिलेख अद्यावधिक गर्न सबै यातायात व्यवसायीलाई निर्देशन दिएको छ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हिमाल, पहाड र तराईका ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कुनै पनि प्रलोभनमा नपरी सिट क्षमताभित्र मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न समेत महासङ्घले अनुरोध गरेको छ।
यसैबीच, सडक दुर्घटनापछि सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विभिन्न छानबिन समितिका प्रतिवेदन कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको महासङ्घको भनाइ छ। ती प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ।