नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक सम्पन्न, आर्थिक सहकार्य विस्तारमा जोड
२८ माघ, काठमाडौं। नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ। चन्द्रागिरिमा आयोजित बैठकले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र (बीटुबी) सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा छलफल गरेका थिए। सहभागीहरूले नेपाल–कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरलीकरण तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको छ। साथै नेपाली व्यवसायीहरूलाई कतारमा सेवा क्षेत्र, पर्यटन–सम्बद्ध उद्योग, सिप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आह्वान गरिएको छ।
कतारी प्रतिनिधिमण्डलले नेपालमा लगानीको सम्भावनाप्रति सकारात्मक धारणा राख्दै स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भए दीर्घकालीन लगानी गर्न तयार रहेको जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकले नेपाल–कतार आर्थिक सम्बन्ध थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे। महासंघ विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको उनले बताए।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डल प्रमुख मोहद अहमद एमए अलोबैदेलीले जेबीसीलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै ठोस सहकार्य क्षेत्र पहिचान गर्न आग्रह गरे।
नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग भेटवार्ता गरी लगानी प्रवर्द्धन, व्यापार विस्तार र हवाई कनेक्टिभिटी लगायत विषयमा छलफल गरेको थियो।
जेबीसीको पहिलो बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूप दिँदै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।