रसुवामा सडक निर्माण गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण सुरु
रसुवा, फागुन १२ — जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न रसुवामा निर्माण सामग्री परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। जिल्ला पूर्वाधार विकास कार्यालयले धुन्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यो सुविधा लागू गरेको हो।
कार्यालयका प्रमुख रवीन मर्हजनका अनुसार जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल, कालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिनेछ। यसअघि यस्ता परीक्षणका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो। अब जिल्लामै परीक्षण सम्भव भएपछि निर्माण प्रक्रियामा पारदर्शिता र गुणस्तर दुवै बढ्ने अपेक्षा गरिएको छ।
पाँचजना दक्ष प्राविधिक परीक्षण कार्यमा खटिएका छन्। मर्हजनका अनुसार परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ, जसले प्रयोगशालालाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाएको छ। यसले निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपट गर्न नसक्ने अवस्था सिर्जना गरेको छ।
विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति देखाएको छ। हालसम्म नमूनाका रूपमा ३.३६५ किमि नयाँ सडक ट्र्याक खोलिएको, ३.४७८ किमि सडक ढलान गरिएको, १०.६३८ किमि सडक कालोपत्र गरिएको र २०.४७ किमि सडकमा ग्राभेल गरिएको छ।
स्थानीयवासीले गुणस्तरीय पूर्वाधार विकासले रसुवालाई नमूना जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन्। कार्यालयले कुन क्षेत्रमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने विषयमा प्राविधिक टोलीले स्थलगत अध्ययनलाई पनि प्राथमिकता दिएको छ।
प्रयोगशालाको सुरुआतसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचनाहरू थप टिकाउ, सुरक्षित र विश्वासयोग्य हुने विश्वास गरिएको छ।