डोटीमा बन्दुक पड्किँदा एक युवकको मृत्यु
डोटीमा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ।बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँका ३० वर्षीय कलम धामीको बुधबार साँझ बन्दुक पड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठामा राखिएको भरुवा बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो।
घटनाबारे राति करिब १ बजे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
थप अनुसन्धानका लागि बिहीबार बिहान प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ।