काठमाडौँ उपत्यकाको वायु प्रदूषण ‘अस्वस्थ’ स्तरमा पुग्यो
काठमाडौँ, ११ फेब्रुअरी । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको स्तरमा पुगेको छ। वातावरण विभागको ‘एयर क्वालिटी इन्डेक्स (AQI)’ अनुसार आज मध्याह्नसम्म उपत्यकाको वायु प्रदूषण १९२ AQI मापन गरिएको छ।
गत आइतबार वायु प्रदूषण १७५ AQI थियो भने मङ्गलबार १९२ AQI पुगेको थियो। विभागले जनाएको छ कि आज पनि प्रदूषण कम भएको छैन।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नभएका कारण र हावा नचल्दा वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको बताएका छन्। उनले भने, “उपत्यका कचौरा आकारको छ, हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण फैलिन सक्दैन। धुवाँधुलो हावामा तैरिरहेको हुन्छ। साथै उद्योग, कलकारखाना सञ्चालन र तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले पनि प्रदूषण बढाउन भूमिका खेलेका छन्।”
वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै वृद्धि हुनसक्ने उनले चेतावनी दिएका छन्।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार:
०–५० राम्रो (हरियो)
५१–१०० सचेत (पहेंलो)
१०१–१५० अस्वस्थ (विशेष गरी श्वासप्रश्वास र मुटुरोगीलाई असर)
१५१–२०० सबैका लागि अस्वस्थ
२०१–३०० धेरै अस्वस्थ
३०० भन्दा माथि अत्यन्तै खतरनाक मानिन्छ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार AQI ३०० भन्दा माथि पुगेको अवस्था विपद् मानिन्छ। यस्तो अवस्थामा फोहर जलाउने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर र भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था छ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण र जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति तय गरिएको छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र र प्रदूषण जोखिम भएका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गर्ने व्यवस्था छ।