रोक्का गरिएका धेरै आयोजनाको रकम फुकुवा भइसक्यो : अर्थमन्त्री खनाल
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठनपछि विशेष परिस्थितिका कारण रोक्का गरिएका कतिपय विकास आयोजनाहरूको रकम फुकुवा भइसकेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन अवस्थामा कम प्राथमिकतामा परेका तथा केही साना–टुक्रे आयोजनाको रकम अस्थायी रूपमा रोक्का गरिएको स्पष्ट पारे। उनले अहिले प्राथमिकताका आधारमा धेरै आयोजनाहरूको रकम फुकुवा भई कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।
मन्त्री खनालका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवाको पुनः सञ्चालन तथा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण केही आयोजनाको दायित्व सिर्जना भए पनि भुक्तानी गर्न सकिएको थिएन।
उनले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार आयोजनाहरूको पुनः प्राथमिकीकरण गरिएको र अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता अपनाइएको बताए। तयारी नभएका, खरिद प्रक्रियामा नगएका तथा अर्थतन्त्रलाई प्रत्यक्ष लाभ नदिने आयोजनाहरूको रकम मात्र स्थगन गरिएको उनको भनाइ छ।
तर डिजाइन सम्पन्न भई टेन्डर प्रक्रियामा गइसकेका वा जाने क्रममा रहेका, उपभोक्ता समितिसँग सम्झौता भई काम सुरु हुने चरणमा पुगेका तथा केही महत्त्वपूर्ण आयोजनाहरूको रकम भने फुकुवा गरिएको मन्त्री खनालले स्पष्ट पारे।
सरकारले आगामी दिनमा पनि प्राथमिकताका आधारमा विकास आयोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।