कुलमान घिसिङद्वारा जनमुखी कामको जरुरीतामा जोड: मुलुक छिट्टै समृद्ध बन्न सक्छ
पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक दलहरूले नेपाली जनताको चाहनाअनुसार काम गरे मुलुक छिट्टै समृद्ध बन्न सक्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले भने, विभिन्न समयमा राजनीतिक दलहरूले परिवर्तन ल्याए पनि जनमुखी शासन क्षमता प्रदर्शन गर्न नसक्दा असन्तुष्टि बढेको र जेन–जी आन्दोलन जस्ता घटनाहरू उत्पन्न भएको हो।
उनले सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहिताको अभाव र प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त भएको टिप्पणी गर्दै, आर्थिक समृद्धि, सुशासन, सामाजिक न्याय र रोजगारीतर्फ सबैले आपसी सहकार्य र समन्वयमार्फत काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री घिसिङले छिमेकी देश चीन र भारत द्रुत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतमा धनी भए पनि पछाडि पर्नुका कारण खोज्नुपर्ने बताए। उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति र युवाको सहभागिता आवश्यक भएको पनि बताए।
पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा र उत्तरदायी नेतृत्वको आवश्यकता रहेकोमा जोड दिइन्।