मधुवनीमा आगलागी, घरगोठ र पशुधन जलेर नष्ट
गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।
आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा राति करिब ९ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिक रूपमा जलेर घाइते भएका छन् ।
त्यसैगरी घरगोठमा राखिएको पाँच क्विन्टल धान, एक बोरा चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।