ठमेलको एलओडी क्लबमा ‘एनपीएल नाइट’, विजेता खेलाडी र आठवटै टोली सहभागी
काठमाडौं । ठमेलस्थित एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ आयोजना हुने भएको छ। कार्यक्रममा ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को विजेता खेलाडीसहित अन्य आठवटै टोलीको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार एनपीएल समापनको अवसरमा आयोजना हुने सेलिब्रेसन नाइटमा एनपीएलमा सहभागी सबै खेलाडी र टोलीले भाग लिनेछन्। उनले भने, “हाम्रो मुलुकको लागि एनपीएल हुनु गौरवको विषय हो। विभिन्न देशका खेलाडीहरू एनपीएलमा सहभागी भएका छन् जसले नेपालको पर्यटन प्रचारप्रसारमा ठूलो योगदान पु-याएको छ।”
एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेन्मेन्ट पार्टनर बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दौरान क्लबका डिजेहरूले खेलमा सहभागी खेलाडी र दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका थिए।
एलओडी क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोसिएसनका सचिव पारस खड्काबीच क्लबको इन्टरटेन्मेन्ट पार्टनरको सम्झौता भएको थियो। आगामी वर्षमा पनि क्लब यही भूमिकामा रहन सक्ने सम्भावना रहेको उनले बताए।
एनपीएलको दोस्रो सिजन मङ्सिर १ गतेबाट सुरु भएको थियो र फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।