राष्ट्रपति पौडेलद्वारा एनपीएल विजेता लुम्बिनी लायन्सलाई बधाई
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विजेता टोली लुम्बिनी लायन्ससहित उपविजेता तथा प्रतियोगितामा सहभागी सबै टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
उनले आफ्नो सन्देशमा खेलप्रतिको समर्पण र उत्साहको प्रशंसा गर्दै भनेका छन्,
“खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”
राष्ट्रपति पौडेलले एनपीएलले नेपाली क्रिकेटको विकास र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रतिस्पर्धा र उपलब्धिको कामना गरेका छन्।