लमहीमा सुनचाँदी पसलपछि होटलमा पनि गोली, १८ वर्षीय कर्मचारी घाइते
काठमाडौं । दाङ देउखुरीको लमहीमा सुनचाँदी पसलमा गोली प्रहार भएको एक सातापछि होटलमा पनि गोली चलेको छ। शनिबार बिहान लमही–रातोडाँडास्थित होटलमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।
रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली चल्दा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार गौतमको हातको औंलामा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार घाइते गौतमले कोठा सफा गर्ने क्रममा एअर कन्डिसन (एसी) माथि राखिएको पेस्तोल अचानक पड्किएको बताएका छन्। उक्त पेस्तोल कसको हो र त्यहाँ किन राखिएको थियो भन्ने विषयमा खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि यही मंसिर २० गते लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले आएका व्यक्तिले पेस्तोलबाट गोली चलाउँदा पसल सञ्चालक घाइते भएका थिए। त्यसको एक सातापछि फेरि लमहीकै होटलमा गोली पड्किएपछि स्थानीयस्तरमा सुरक्षा चिन्ता बढेको छ।
यस्तै, यही मंसिर २२ गते लमही बजारमा रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल होटलभित्रै मृत फेला परेका थिए। लगातार भएका घटनाले लमही क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको स्थानीयले बताएका छन्।