पदम गिरीद्वारा एमाले महाधिवेशन भाँड्ने षड्यन्त्रको आशंका
काठमाडौं, २५ मंसिर । नेकपा एमालेका नेता पदम गिरीले देशी–विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्। उनले सरकारमा रहेका व्यक्तिहरूले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय उत्पन्न गरेको बताएका छन्।
पूर्वमन्त्री गिरीले फेसबुकमा लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली माथि नै षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी दिएका छन्। उनले स्पष्ट रूपमा भनेका छैनन् कि ती देशी–विदेशी शक्ति को हुन् वा उनीहरूले कस्तो प्रकारको षड्यन्त्र गरिरहेका छन्।
गिरीले स्टाटसमा उल्लेख गरेका छन्, “एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी–विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ। वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ, हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ। साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोहीलाई पनि इतिहासले माफी दिने छैन।”