राष्ट्रिय परिवर्तन पार्टीलाई दल दर्ता प्रमाणपत्र, अध्यक्ष राजेश पटेल
काठमाडौं, १ मंसिर – राष्ट्रिय परिवर्तन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीको अध्यक्षमा राजेश पटेल छन्, जो गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए।
पार्टीको चुनाव चिह्न ‘बाँसुरी’ रहेको छ। उनीहरूले गत कात्तिक २ गते दल दर्ताका लागि निवेदन दिएका थिए भने सोमबार औपचारिक प्रमाणपत्र प्राप्त गरे। प्रमाणपत्र पाएसँगै पार्टीले यसलाई “ऐतिहासिक क्षण” भन्दै आयोग परिसरमै पत्रकारहरूसँग संक्षिप्त ब्रिफिङ गरेको थियो।
ब्रिफिङमा भनिएको छ, “यो केवल एउटा पार्टी दर्ता प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाण हो।”
पार्टीले शहीदहरूको बलिदानलाई इतिहासमा मात्र सीमित नराखी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने प्रतिज्ञा गरेको छ। “देशमा परिवर्तन ल्याउन ज्यान अर्पण गर्ने प्रत्येक सहिदको सपना पूरा गर्ने” दृढता पनि पार्टीले जनाएको छ।
आगामी निर्वाचन अघि आफ्ना प्रमुख मागहरू सुनिश्चित हुनुपर्ने भन्दै पार्टीले भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम, प्रणाली परिवर्तनसहित प्रत्यक्ष कार्यकारीको दिशामा स्पष्ट रोडम्याप, शहीदको सम्मान, साथै घाइतेहरूको उपचार, पुनर्स्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित गर्न माग राखेको छ।
राष्ट्रिय परिवर्तन पार्टीले निकट भविष्यमा आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गर्ने जनाएको छ।