एसएसपीमा बढुवा सिफारिसविरुद्ध बस्नेतले दिएको उजुरी खारेज
प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसविरुद्ध प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतले दिएको उजुरी खारेज गर्ने निर्णय गरिएको छ । बुधवार बढुवा उपरको उजुरी सुन्ने समितिले बस्नेतको उजुरी खारेज गरेको हो ।
साउन ५ मा बढुवा समितिले ११ जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिस विरुद्ध परेको उजुरीमा आवश्यक निर्णय गरिएको लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए ।
बैठकमा सहभागी एक जना सदस्यले बस्नेतको उजुरी खारेज गरेर बढुवा समितिले गरेको सिफारिस सदर गरिएको बताए । उनले भने, ‘जे सिफारिस छ त्यसैलाई अघि बढाउने निर्णय भएको छ ।’
मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले आफूलाई छुटाएर अन्याय गरिएको उजुरीमा उल्लेख गरेका थिए । राष्ट्रिय अनुसन्धानबाट आएका बस्नेत वरीयता सूचीको पहिलो नम्बरमा भए पनि छुटेका थिए । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो समय सीमा अझै पूरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजीव बहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो ।