घोराहीमा गुठीपीडित किसान र प्रहरीबीच झडप, १० सेल अश्रु ग्यास प्रहार
दाङको घोराहीमा गुठी पीडित किसान र प्रहरी प्रशासनका बीचमा झडप भएको छ।
स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार झडपमा परी दस जना प्रहरी र ५ जना किसान घाइते भएका छन्।
एसपी केसीका अनुसार घाइतेमध्ये एक जना प्रहरीको ढुँगाले लागेर दाँत भाँचिएको छ ।
‘गुठी पीडित किसानको नाममा हुलहुज्जत गरी मालपोत र नापी कार्यालयमा जोर जवरजस्ती खोज्नेहरुलाई प्रहरीले रोक्न खोजेको थियो,’ एसपी केसीले भने ‘ त्यही क्रममा उनीहरुले प्रहरीमाथि ढुँगामुढा गरेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको हो।’
प्रहरीले गुठी पीडित किसानमाथि लाठी चार्ज गर्नुका साथै १० सेल अश्रु ग्याससमेत प्रहार गरेको एसपी केसीले बताए ।
घाइते किसान र केही प्रहरीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी छ। गुठी पीडित किसानका अगुवाहरुले भने प्रहरीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् ।
आफूहरूले जोतभोग गर्दै आएको गुठीको जमिनको लालपुर्जा नपाएको भन्दै उनीहरू लामो समयदेखि आन्दोलनरत छन्। यसअघि घोराहीमा बिभिन्न चरणका आन्दोलनहरु गरेका थिए । उनीहरुले हलो जुवासहित सडकमै सुतेर रित्तो थाल ठटाउँदै प्रर्दशन गरेका थिए।