आगामी आर्थिक वर्षको बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको शनिबार बनेपामा आयोजित ४२औं साधारण सभामा उहाँले आगामी आवका निर्धारित नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिंदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्ने बताउनुभयो।
विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा अधिकांश योजना ओझेलमा परेको उहाँले बतानुभएको छ। आन्तरिक, बाह्य र राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सिर्जनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलको आवश्यकता भएको बताउनुभयो।
सोही अवसरमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले व्यवसायलाई गतिशील बनाउन सरकार र उद्यमी–व्यवसायी सहकार्य हुनुपर्ने बताउनुभएको छ ।