बुद्धको त्याग-विचार र अभ्यास अनुकरणीय छ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित, शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्म जयन्तीका अवसरमा बिहीबार शुभकामना दिंदै उहाँले बुद्धको दर्शन, विचारले अहिंसा, सद्भाव, मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरी लोकप्रिय र कालजयी रहन सकेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसंग महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग, उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्री दाहालले बुद्धको उपदेश, मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामना समेत गर्नुभएको छ ।