कोरोनाका कारण बन्द रहेको ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुल्यो
काठमाडौ । ताप्लेजुङको टिप्ताला नाका शनिबार बिहानदेखि खुला भएको छ।
नेपाल–चीनको सीमानामा रहेको सोही नाका कोरोना महामारी यता बन्द भएको थियो। लामो प्रयासपछि शनिबारदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताउनुभयो। लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन्।
उनीहरुले नेपालमा उत्पादित गलैंचा, दूधजन्य पदार्थ घ्यू । छुर्पी लगायका सामग्री लगेका हुन्। उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहने भएका छन्। गत वैशाख अन्तिम हप्ता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो। चीनतर्फबाट तयारी पूरा गरेर शनिबार बिहानदेखि नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिऊ प्रवेश गरेका हुन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने १ सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन्।