म्याग्दीको छ्यारछ्यारेमा पक्की पुल बनेपछि नदीमा हेलिएर आवागमन गर्नुपर्ने समस्याको अन्त्य
काठमाडौं । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।
पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिका-५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका ५ हजार भन्दा बढी मानिस लाभान्वित भएका हुन् । साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ ।
२०७७ साल साउन ४ गते ४ करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।सोही योजना अन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो ।
पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताउनुभएको छ। उहाँका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको हो ।
मङ्गला–५ छिसबाङका विकल सेनले पुल बनेपछि निकै सहज भएको बताउँदै अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो । ‘स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुल बनेसँगै सहज भएको उहाँको भनाइ छ ।
त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताउनुभयो ।