उभौली पर्व आपसी सद्भाव र एकता सुदृढ बनाउन मदत गर्छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाड पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउनुभएको छ ।
किराँत समुदायको महान उभौली पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै उहाँले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताउनुभएको हो ।
हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता, सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,-राष्ट्रपति पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।