आर्थिक वर्षको बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनुभएको छ ।
सिन्धुपाल्चोकमा चौतारा अस्पतालको बुधबार अत्याधुनिक भवन उद्घाटन गरेपछि उहाँले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताउनुभएको हो । नीति कार्यक्रम, बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले संघीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गर्नुभएको छ । २०७२ सालको भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुननिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै उहाँले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा त्रिपालभित्र उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण पनि गर्नुभएको छ । यसअघि प्रधानमन्त्री दाहालले पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटमा देशलाई प्रतिगमनको जोखिमबाट आफूले जोगाएको बताउनुभयो।