बूढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच ४० मिनेट कुराकानी
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठस्थित निवासमै पुगेर भेटेका छन्।
आइतबार बिहान उनीहरूबीच करिब ४० मिनेट भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल बिहान ९ बजेर १८ मिनेटमा बूढानीलकण्ठस्थित देउवा निवास छिरेका थिए भने ९ बजेर ५७ मिनेटमा बाहिरिए। प्रतिनिधि सभा बैठक बस्नुअघि 'सहमति खोज्न भन्दै' प्रधानमन्त्री दाहाल बूढानीलकण्ठ पुगेका हुन्।
प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। सदनमा कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ। संसदीय समिति गठन नगरेसम्म सदन अवरोध कायमै राख्ने कांग्रेसको भनाइ छ।
साथै आजदेखि कांग्रेसले संसदीय छानबिन समिति गठनमा दबाब दिन सडक प्रदर्शन पनि गर्दैछ।
संसदीय समिति बनाउन प्रधानमन्त्री दाहालसहित सत्ता पक्ष तयार देखिए पनि कार्यादेशबारे सहमति हुन सकेको छैन। कानून मन्त्री पदम गिरी नेतृत्वमा कार्यदल नै बनाएर सत्ता र प्रतिपक्षीबीच कार्यदल बनाउन पटक-पटक छलफल भए पनि सहमति भएको थिएन। त्यसपछि शीर्ष नेताबीच कुराकानी गर्ने समझदारी बनेको थियो।
आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच छलफल गर्ने कार्यक्रम थियो। तर कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै निवास बूढानीलकण्ठमै छलफल गर्न आग्रह गरेका थिए। देउवा निवासमा छलफल गर्न प्रधानमन्त्री दाहाल गए पनि एमाले अध्यक्ष ओली गएनन्।
प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच करिब ४० मिनेट कुराकानी गरेपछि कांग्रेस सहमहामन्त्रीसमेत रहेका कार्यदल सदस्य जीवन परियारले संसदीय छानबिन समितिका कार्यादेशबारे थप छलफल गरी सहमतिमा पुग्ने कुराकानी भएको जानकारी दिए।