भोजपुरको कोट–पाँचधारे सडकखण्डको स्तरोन्नति गर्न शुरू
काठमाडौं । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति गर्न शुरु गरिएको छ ।
वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति गर्न शुरु गरिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने र ग्राभेल गर्ने लगायतको काम भइरहेको छ ।
६ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख रुपैयाँ बजेटबाट पिखुवाखोला पुलबाट वडा नम्बर ६ कार्यालयसम्मको सडक स्तरोन्नति गर्न शुरु गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो ।
पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकता साथ काम अघि बढाएको उहाँको भनाइ छ । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको पनि उहाँले बताउनुभएको हो ।
सडक स्तरोन्नति गरेपछि कृषि उपज बजार पुर्याउन सहज हुने स्थानीयवासीहरुले बताएका छन् ।