मानव अधिकार आयोगले दोहोर्याएर गर्यो सहसचिव खरेलको बढुवा सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले सहसचिव मुरारीप्रसाद खरेललाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
आयोगको आइतबार बसेको बैठकले कायममुकायम सचिवसमेत रहेका खरेललाई बढुवाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
आयोगका सदस्य मिहिर ठाकुरले सहसचिव खरेललाई सचिवमा बढुवा गर्न सिफारिस गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
आयोगमा विगत ३४ महिनादेखि सचिव रिक्त छ। कामुको भरमा आयोग चल्दै आएको छ। आयोगले गत कात्तिकमा पनि खरेललाई नै सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो।
तर त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस प्रक्रिया नपुगेको भन्दै पुन: सिफारिस पठाउन भनेको थियो। प्रधानमन्त्री कार्यालयले बढुवा गर्न अस्वीकार गरेका खरेललाई नै पुन: आयोगले सिफारिस गरी पठाएको छ।
आयोगलाई प्रधानमन्त्री कार्यालयले सचिव सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुनबमोजिम गर्न भनेको थियो।
आयोगले पटक-पटक छलफल गरी पुन: खरेललाई नै सचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको सदस्य ठाकुरको भनाइ छ।
आयोग केही सदस्यहरूले बैठकमा सहसचिव टीकाराम पोखरेल र यज्ञ अधिकारीलाई पनि बढुवा गर्न सकिनेबारे सोच्न आग्रह गरेका थिए। तर अध्यक्ष तपबहादुर मगरले सचिवमा पुन: सहसचिव खरेललाई नै सिफारिस गरिनुपर्ने अडान राखेका थिए।