प्रहरीले हटायो सिंहदरबारको फुटपाथबाट डोरी
दृष्टि सञ्चार संवाददाता । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटामा रहेको फुटपाथको डोरी प्रहरीले हटाएको छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना भएको थियो । आलोचना पछि प्रहरीले डोरी हटाएको हो ।
लघुवित्तका ऋणिहरु फागुन १४ मा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवनमा प्रवेश गरेका थिए । प्रहरीले सो घटनापछि सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो । संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष थुनामा छन् ।
बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले‘निषेधाज्ञा घोषणा गरिएको ठाउँ हुनाले ती ठाउँका फुटपाथ सकभर प्रयोग नगर्न हामीले सूचना दिएको बताए ।
संसद् भवनको कम्पाउन्डबाट पक्राउ गरिएकाहरू विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य छन् ।