कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ
कैलालीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा धनगढी फनपार्क नजिकैबाट गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय विजय विष्टलाई पक्राउ गरिएको हो । विष्टको साथबाट साढे २ ग्राम लागुऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय रमेश चौधरीलाई पनि पक्राउ गरिएको छ । उनको साथबाट एक दशमलव ९० ग्राम खैरोहिरोइन बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।