स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका-९ का सुरजकुमार शाही पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो।
यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ।
झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो। लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले 'जातीय भेदभाव तथा छुवाछुत कसुरमा' जाहेरी दिएकी हुन्।