कात्तिक १ सम्म महानगरले हात्तीसारको टुकुचामा डोजर चलाउन नपाउने
हात्तीसार क्षेत्रमा टुकुचा जमिनमुनि बगाउन निर्माण गरिएको भूमिगत सुरूङमाथि बनेका निजी घरहरू काठमाडौं महानगरपालिकाले कानुनविपरीत भत्काएको भन्दै उच्च अदालत पाटनमा परेका रिटको सुनुवाइ सरेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र विमल सुवेदीको इजलासमा परेको उक्त रिटको सुनुवाइ कात्तिक १ गतेलाई सरेको रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
उनका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एउटा प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्राप्त नभएको भन्दै सुनुवाइ सरेको हो।
यसअघि अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि झिकाउनू भनेको थियो। तर यसको निम्ति पत्राचार नै नभएकाले अन्तरिम आदेश छलफलसम्बन्धी सुनुवाइ गर्न नमिलेको अदालतको आदेशमा भनिएको छ।
अन्तरिम आदेशसम्बन्धी छलफलका लागि कात्तिक १ को पेसी तोकेर आवश्यक कागजपत्र पेस गर्नू भनेर अदालतले भनेको छ। अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेश पनि कात्तिक १ सम्म निरन्तरता दिइएको छ।
भदौ सुरूतिर महानगरले टुकुचाको रेखांकन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको थियो। त्यसपछि विभागले आफ्नो तालुकवाला भूमि व्यवस्था मन्त्रालयमा महानगरको प्रस्ताव जानकारी गराएको थियो।
मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्न समिति गठन गरेको थियो। समितिले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई प्रतिवेदन बुझायो।
उक्त स्थानमा टुकुचाको नक्सा नै छैन। नक्सामै नदेखिएको कुरा रेखांकन गर्न मिल्दैन। कानुनले नै त्यसरी रेखांकन गर्ने अधिकार आफूहरूलाई दिएको छैन भन्ने जोशीको कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख छ।
टुकुचा रेखांकन नै गर्ने भए सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति बनाउन र अध्ययन गरेर निकालिएको निष्कर्षका आधारमा प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सुझाव पनि उक्त कार्यदलले दिएको जोशीले सेतोपाटीलाई बताएका थिए।
उच्च अदालतले मन्त्रालयको यही प्रतिवेदन झिकाउन आदेश दिएको हो।
काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४ मा नेपाल सरकार (मन्त्रिपरिषद) बाट २०६५ मंसिर १ मा भएको संशोधनसमेतको प्रमाणित प्रतिलिपि बाग्मती सभ्यता एकीकृत विकास समितिबाट तीन दिनभित्र झिकाउन पनि अदालतले भनेको छ।
यसअघि उच्च अदालत पाटनले दुवै पक्षको बहस सुनेर अर्को आदेश नभएसम्म टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
हात्तीसार क्षेत्रका शारदा मानन्धर, किरण साखसहित २१ भन्दा बढी घरधनीले महानगरले टुकुचामाथि डोजर चलाउने अभियानविरूद्ध छुट्टाछुट्टै रिट दिएका थिए। आफूले विभिन्न व्यक्तिहरूसँग किनेको, महानगरबाटै नक्सापास गराएर घर बनाएको, वर्षौं पहिले नापी दर्ता गरेका आफ्ना निजी घरजग्गामा महानगरले अकस्मात डोजर चलाएको भन्दै उनीहरूले रिट दिएका हुन्।
यी रिटमा पहिलो सुनुवाइ गर्दै उच्च अदालत पाटनले टुकुचा उत्खनन गर्ने महानगरको निर्णय र महानगरको आग्रहपछि भूमिसुधार मन्त्रालयको कार्यदलले बनाएको प्रतिवेदन लगायत सक्कल फाइल मगाएको थियो।
काठमाडौं महानगरले भदौ अन्त्यतिर टुकुचा सुरूङ उत्खनन् गरी सतहमा ल्याउन हात्तीसार क्षेत्रमा डोजर चलाएको थियो। टुकुचामाथि बनेका घरहरू पनि महानगरको डोजरले भत्काएको थियो।